‘एमालेको सरकारले भ्रमको खेती गर्यो, गरिब जनताको खाना, नाना र छाना कहाँ पुग्यो ?’

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १७:२६

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाएका छन् । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता बानियाँले वर्तमान सरकारले करिब साढे ३ बर्षे कार्यकालमा गरिब जनताको लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको बताए ।

‘सरकारले गरिब जनतालाई खाना, नाना र छानाको नारा लिएको थियो । आजसम्म कतिवटा खरका छानामा जस्ता हालिएका छन् ?, अनि म जवाफ माग्न चाहान्छु । राष्ट्रिय गौरवको आयोजना कहाँ पुगे ? पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ्मार्ग निर्माणको काम कहाँ पुग्यो ? विद्युतीय बस कहिलेदेखि संचालन हुने हो ?’ उनले प्रश्न गरे ।

उनले भाषणबाजी गरेर मात्रै जनताको अवस्थामा परिवर्तन नआउने बताए । उनले अब सरकारको नेतृत्व संयुक्त गठबन्धनले गर्ने र अहिले भएका विकृति विसंगतिको अन्त्य गरिने बताए । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत नदिन समेत उनले सबैलाई आग्रह गरे । मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बानियाँले बताए ।

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।