अपडेट : बाढीपहिरोबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८८ पुग्यो

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १०:२३
file-photo

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर थप ११ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यससँगै देशैभर बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको कूल संखया ८८ जना पुगेको छ ।

अधिकांशको पहिरोका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार १४ जना र बुधबार ६३ जनाको मृत्यु भएको पुष्टि भएको थियो । मृत्यु हुनेमा सबैभन्दा धेरै पाँचथर जिल्लाका रहेका छन् । त्यहाँ हालसम्म २७ जनाको मृत्यु भएको जनाइएको छ ।
यसैगरी, मृत्यु हुनेमा इलाम र डोटीमा १३/१३ जना र अन्य जिल्लामा ३६ जना रहेका छन् ।

कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता भएका छन् ।