प्रदेशसभाको बैठकमा एमाले उपस्थित हुँदैन – प्रमुख सचेतक निरौला
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरु आज बस्ने भनिएको प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठकमा उपस्थित नहुने बताएका छन् । एमालेको वडा र पालिकास्तरीय अधिवेशन क्रमश कात्तिक ६ र ९ गते तय भएकोले सोही अधिवेशनमा सांसदहरु व्यस्त हुने कारण देखाउँदै उनले एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरु उपस्थित नहुने जानकारी दिए ।
उनले भने, ‘हामीले बैठक सार्न प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेका छौँ, आज बैठक बस्दैन भन्ने हाम्रो विश्वास हो । यदि सभामुखज्यूले बैठक आह्वान गर्नुभयो भनेपनि हाम्रो उपस्थिती रहँदैन ।’ उनले सबै सांसदहरु पार्टीको जिम्मेवार पदमा रहेको र उनीहरुको भूमिका स्थानीय अधिवेशनमा महत्वपूर्ण रहने भएकोले अधिवेशन छाडेर प्रदेशसभा बैठकमा जान नसकिने बताए ।
बैठक सार्न बुधबार नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो । लिखित पत्र पठाउँदै एमालेले आज हुने प्रदेशसभाको बैठक ११ गतेसम्मको लागि सार्न प्रस्ताव गरेको थियो । विभिन्न कारण देखाउँदै एमालेले मुख्यमन्त्री शाक्यको विश्वासको मत टार्नको लागि नाटकीय रुपमा प्रदेशसभा सचिवालयमा बैठक सार्ने प्रस्ताव गरेको हो ।
आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।
सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।
प्रमुख सचिव खड्काका अनुसार, आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।
