बागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिँदै

तु खबर संवाददाता
२०७८ कार्तिक २,मंगलवार ०८:२५
file-photo

मकवानपुर । बागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएको छ । नेकपा एमाले विभाजन पश्चात अल्पतमा परेको मुख्यमन्त्री फेरिने भएको हो । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ता पेस गरेकी थिइन् । उक्त प्रस्तावमाथि यही कात्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ ।

नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । त्यस्तै, प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।