गुडिरहेको बसबाट खसेर मकवानपुरका गोले गम्भीर घाइते

तु खबर संवाददाता
२०७८ कार्तिक १,सोमबार १४:४३

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा आज (सोमबार) दिउँसो गुडिरहेको बसबाट खसेर एक जना गम्भीर घाइते भएका छन् । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मोहरेस्थित ठिंगनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मोडभन्ज्याङ बस्ने १९ वर्षीय बिरबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, घाइते गोले उक्त बसका सहचालक हुन् । गोलेको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाएको प्रहरीले जनाएको छ ।