दशैं अवधिभर कर्णाली प्रदेशमा २१ सवारी दुर्घटना, ३७ जनाको मृत्यु
सुर्खेत । दशैंको अवधिभरमा कर्णाली प्रदेशमा साना ठूला गरी २१ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा परी ३७ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सो अवधिमा मुगुमा सबैभन्दा ठूलो दुर्घटना गएको असोज २६ गते भएको थियो ।
नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।
यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । जुन दुर्घटनाले सो नगरपालिका पूरै शोक डुबेको थियो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा भएका नौवटा दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् । मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक÷एक सवारी दुर्घटना भए । त्यस्तै दशैंको अवधिभरमा ११ जनाले आत्महत्या गरेको घटना आएको प्रहरीको भनाई छ ।
