सिन्धुपाल्चोकबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडकखण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको राससले उल्लेख गरेको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। काठमाडौँ–धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । यसैबीच चाडपर्वको बेला सवारी दुर्घटना बढेका छन् । चालकले मदिरा सेवन गर्ने तथा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना बढेको पाइएको छ । जिर्ण र कच्ची सडकको कारण पनि दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् ।
