भारत बन्यो साफ च्याम्पियन, नेपाल उपविजेतामा सिमित

तु खबर संवाददाता
२०७८ आश्विन ३१, आईतवार ०७:४९

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको छ । यससंगै भारतले साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ भने नेपाल उपविजेतामा सिमित रहेको छ । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गरेको थियो । खेलको ४९ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे । नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो । जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो । भारतले यसअघि ७ पठक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।