बसले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरका २ युवकको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन ३०, शनिबार ०७:५९
सांकेतिक तस्वीर

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकमा शुक्रबार राति यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारमा हेटौंडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोडसमेत गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको प्रहरी निरीक्षक दासले जनाए । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।