गुल्मीमा जिप दुर्घटना ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २९, शुक्रबार ०८:१८

काठमाडौँ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्वरको जिप गएराति रेसुङ्गा नगरपालिका वडा नम्वर १० स्थित पाँचतारेमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर २ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको र एक जनाको भने गुल्मी अस्पतालमै उपचार भइरहेको थाहा लागेको छ । सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो ।