गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, शपथ आजै हुने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले विशवकर्मालाई आज (सोमबार) बिहान विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मा नेपाली कांग्रेसका सांसद हुन ।
यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम हटाएर बिन्दुरकुमार थापालाई मन्त्री बनाइएको थियो । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो । मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौं गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग उनलाई मन्त्री बनाउन सहमति लिएका थिए ।
मन्त्री विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ । गण्डकी प्रदेशमा हाल ६० जना प्रदेशसभा सदस्य रहेका छन् । गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेको छ ।