बागमती प्रदेश सरकारमा बानियाँको दावी

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार १४:४६
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले सरकार गठनका लागि गठबन्धन दलसंग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाली कांग्रेसले प्रदेश संसदमा अहिलेसम्म निर्वाह गरेको भुमिका राजनैतिक संस्कारयुक्त रहेको र जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए । संसदीय प्रक्रियालाई चुस्त बनाई सभामुख सानुकुमार श्रेष्ठले मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्नेमा सांसदहरुले जोड दिएका थिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैछिन् । उनको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद सचिवालयमा गत शुक्रबार नै दर्ता भइसकेको छ । मुख्यमन्त्री शाक्यको प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले सो प्रस्ताप संसदका सचिव कृष्णहरि खड्कामार्फत दर्ता गराएका हुन् । उक्त प्रस्तावको प्रकृयागत विषयको टुंगो लगाउन अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । उक्त बैठकको निर्णय अनुसार, मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धि प्रस्ताव अघि बढ्नेछ । मुख्यमन्त्री शाक्यले आजै ३ बजे बस्ने प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने जनाइएको छ ।

यसअघि गत बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बागमती प्रदेशमा मुख्यमन्त्री दिने निर्णय गरेको थियो । उक्त बैठकले समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री दिने निर्णय गरेको हो । यसअघि नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएपनि अब गठबन्धनमा सहभागी जुटेसँगै पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । त्यस्तै, प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।

त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले कोरोना संक्रमण भई उपचाररत नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बिजयादशमीको अवसरमा सम्पूर्ण प्रदेश, देश र विदेश रहेका नेपालीमा शुभकामना दिँदै बैठकले कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत हालसम्म अधिवेशन सम्पन्न भएर विभिन्न पदमा निर्वाचित पदाधिकारी, सदस्य एवम् क्षेत्रीय प्रतिनिधिलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको संसदीय दलका सचिव निमा लामाले जानकारी दिए ।