नेपाललाई बेलायतले रेडलिष्टको सूचीबाट हटाईयो

तु खबर संवाददाता
२०७८ आश्विन २२,शुक्रबार ०९:१०

काठमाडौं । बेलायत सरकारले कोरोना महामारीका कारण अन्तराष्ट्रिय यात्रा प्रतिबन्धमा रहेको नेपाललाई रेडलिष्टको सूचीबाट हटाएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुने गरी बेलायत सरकारले नेपाललगायत ५४ वटा मुलुकलाई रेडलिष्टको सूचीबाट हटाएको हो ।
रेडलिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत जाँदा ११ रातको होटेल क्वारेन्टिन बस्नु नपर्ने जनाएको छ ।

बेलायत सरकारले उक्त निर्णय बिहीबार गरेको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटीलाई भने अझै रेडलिष्टमा नै सूचीमा नै राखिएको छ । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत जाँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ ३ लाख ७४ हजार जति हुन सक्ने जनाइएको छ ।

कोरोना महामारी र लकडाउनका कारण गतवर्ष पनि नेपाल जान नपाएका बेलायतवासी नेपालीलाई दसैँको मुखमा गरिएको यो निर्णयले ठूलो राहत मिलेको छ । बेलायत सरकारले कोरोना संक्रमणका आधारमा विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको थियो । तर, यहि अक्टुबर ४ तारिखबाट भने ग्रीन र एम्बरलाई हटाएर रेड मात्र कायम गरेको थियो ।