सवारी दुर्घटनामा दुईको मृत्यु, हेटौंडाका गिरी पक्राउ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा गएराति सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्वरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको सनसरी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक दुबै जना स्कुटमा सवार थिए । ट्रकले ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए ।
घाइते उनीहरुलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । प्रहरीले ट्रक र चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
