बागमती प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

तु खबर संवाददाता
२०७८ आश्विन २१, बिहीबार १०:०७

मकवानपुर । बागमती प्रदेशसभाले यही असोज २४ गते नवौं अधिवेशन बोलाइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन बोलाउने निर्णय गरेको हो । सोही प्रदेश अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव पेश गर्न लागिएको सरकारका प्रवक्ता केशव राज पाण्डेले जानकारी दिए ।

सम्भवतः मुख्यमन्त्री शाक्यले यही असोज २५ गतेभित्रै विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता पाण्डेले बताए । सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेको स्पष्ट बहुमतबाट गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेशसभामा हाल ११० जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दल मिलेर बनेको गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी गर्दै आएको छ ।