हेटौंडाका ३ वटा फेन्सी पसललाई जरीवाना

तु खबर संवाददाता
२०७८ आश्विन १९, मंगलवार १७:३५

मकवानपुर । हेटौंडाका तीन वटा पसललाई जरीवाना गरिएको छ । आज (मंगलबार) जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय हेटौंडाको अनुगमन टोलीले हेटौंडाको स्कुलरोडस्थितको तीन वटा फेन्सी पसललाई जरीवाना गरेको राजस्व कार्यालयका कर अधिकृत सुमन बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, आज दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुर, आन्तरिक राजस्व कार्यालय हेटौंडा, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिको संयुक्त उपस्थितिमा अनुगमन गरिएको थियो । जसमा राजस्व कार्यालयका प्रतिनिधिहरुले फेन्सी पसल, कस्मेटिक पसलको अनुगमन गरेका थिए ।

राजस्व कार्यालयका प्रतिनिधिहरुले हेटौंडाका ११ वटा फेन्सी तथा कस्मेटिक पसलको अनुगमन गरिएकोमा खरिदबिक्री खाता अपडेट नगरेको, पसलमा बिक्री खाताको कारोबार नगरिएको र स्थायी लेखा नम्वरमा कारोबार नभएको भन्दै तीन वटा फेन्सी पसललाई जरीवाना गरिएको उनले बताए । हेटौंडाको स्कुलरोडस्थित हेटौंडा कलेक्सन टु, पजल कलेक्सन र युभीएस फेसन पसललाई जरीवाना गरेको हो । कर अधिकृत बुढाथोकीका अनुसार, हेटौंडा कलेक्सन र न्यू पजल कलेक्सन पसललाई जनही ५/५ हजार रुपैयाँ र युभीएस फेसन पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।