मकवानपुरमा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा आज (मंगलबार) दिउँसो सवारी दुर्घटना भएको छ । दिउँसो इन््रदसरोवर गाउँपालिका वडा नम्वर ४ राकश खोलामा स्कारपिओ गाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२२ च ३४९२ नम्वरको स्कारपिओ आफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त गाडी सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । स्कारपिओमा चालक हेटौंडा घर भएका सन्दिप खतिवडा मात्र रहेको र उनलाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल हुँदा एक जनाको मृत्यु भएको छ । तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुर रहेका छन् दुर्घटनामा परी गम्भीर घाइते भएका उनको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंह घाइते भएका छन् । उनको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ । त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
