हेटौंडा–१० मा ‘हेल्प डेस्क’ को स्थापना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित नागरिक यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप-केन्द्र हेटौंडा–१० बसपार्क, साना हात र सचेत नागरिक युवा समूहको सहकार्यमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी हेल्प डेस्क स्थापना गरेको हो ।
उक्त हेल्प डेस्कको आज (मंगलबार) हेटौंडा उपमहानगरपालिका– १० का अध्यक्ष किताब सिं लामा र मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले यात्रुहरुको चाप बढेसँगै र यो संकटको अवस्थामा यात्रुहरु ठगिमा नपरुन भन्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरेको बताए । साथै उनले यात्रुहरुलाई कुनै गुनासो वा कुनै अमानवीय व्यवहार भएमा प्रहरीको कन्ट्रोल नः १०० मा या ९८५५०९०१५० र ९८५५०९१००० नम्वरमा फोन गर्न सकिने जानकारी दिए ।
यस्तै, हेटौंडा–१० का वडाध्यक्ष लामाले हेल्प डेस्क स्थापना हुँदा नागरिकहरु ठगिनु नपर्ने र नागरिकले ठगिनु परे कक्षमा रहेका प्रहरीलाई आएर समस्या राख्न अनुरोध गरेका छन् । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता भएको कार्यक्रममा सामुदयिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगरका अध्यक्ष राम बिष्ट, महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ, उप– केन्द्रका पदाधिकारी, स्थानीय, जनप्रतिनिधि, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
