भारतीय कांग्रेसकी नेता गान्धी पक्राउ

एजेन्सी
२०७८ आश्विन १८,सोमबार ०९:४८

भारत । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । गान्धीलाई उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीे पक्राउ गरेको राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के कसैको दुःखमा समावेश हुनु अपराध हो ?’

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन्त्री अजय मिश्रका छोरा आशिषको गाडीले कुल्चिएर किसानको मृत्य भएको दाबी गरिएको छ । प्रहरीले आशिषविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ । आशिषसमेत १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लखिमपुर खिरीमा आइतबारको किसान आन्दोलनबीच भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको थियो ।

प्रियंका मृतकको परिवारलाई पनि भेट्ने उद्देश्यले अबेर राती दिल्लीबाट लखनउ पुगेकी थिइन् । त्यसको केही बेरपछि उनी लखिमपुरका लागि जाने क्रममा बिहान साढे ५ बजे प्रहरीले सीतापुर जिल्लाको हरगांज बोर्डरमा पक्राउ गरेको हो । पक्राउ गर्नुअघि प्रियंकामाथि धक्कामुक्का पनि भएको दाबी गरिएको छ । कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिइँदै गरेका बेला पुरुष प्रहरीले उनीमाथि हात उठाएको दाबी गरेका हुन् । भिडियो फुटेजमा हुड्डाले ‘उनीहरुले प्रियंका गान्धीमाथि कसरी हात उठाउन सक्छन् ?’ भनेर प्रश्न गरिरहेको सुन्न सकिन्छ । युपी प्रहरीका अधिकारीले जब प्रियंका गान्धीलाई हिरासतमा लिइरहेका थिए तब उनीसँग उनीहरुको राम्रै बहस भएको थियो ।