हेटौंडा उपमहानगरले बोलायो प्रअको बैठक

तु खबर संवाददाता
२०७८ आश्विन १६, शनिबार ०८:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले दशैँअघि प्रधानाध्यापक (प्रअ) हरुको बैठक बोलाएकोे छ । विद्यालयमा शिक्षण सिकाई कसरी भइरहेको छ भन्ने विषयमा बुझ्न सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकलाई बैठक बोलाएको हो ।

उपमहानगरपालिकाले दशैँपछि विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा समेत छलफलको लागि बैठक बोलाएको शिक्षा विकास महाशाखाका अधिकृत रामचन्द्र खड्काले जानकारी दिए । उनका अनुसार, उपमहानगरपालिकाले सामुदायिक विद्यालयका प्रअलाई असोज १८ गते र संस्थागत विद्यालयका प्रअलाई असोज १९ गते बैठक बोलाएको हो ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि करिब ५ महिना बन्द भएको विद्यालय गत भदौ २७ गतेदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गरेको थियो । कोरोना भाइरस कायमै भएको बेलामा विद्यालय कसरी संचालन भइरहेको छ र कस्ता समस्याहरु आइपरेको छ भन्ने विषयमा बुझ्न पनि उपमहानगरले प्रधानाध्यापकहरुलाई बोलाइको उनले बताए ।