सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ : ५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।
किशोरीलाई भारतमा बेच्न लगेको आरोपमा
काठमाडौं । पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन् । सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, किशोरीलाई बेच्नका लागी आफूतर्फ आकर्षित गर्न भण्डारीले मोबाइल पनि किनिदिएका थिए । जोगबनी नाका पार गर्ने बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई सुर्यबहादुरले ‘दाजु बहिनी भन्नु’ भनेर सिकाएका थिए । जोगबनी नाकामा खटिएको प्रहरी टोलीले शंका लागेर किशोरीका अभिभावकलाई फोन गरेपछि सुर्यबहादुरले उनलाई बेच्न लाँदै गरेको पोल खुलेको थियो ।
किशोरी र आरोपीबीच केही दिनअघि मात्र सामान्य चिनजान भएको थियो । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
