स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडामा रहेको हेल्थपोष्ट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग भएको छ । चौघडा स्वास्थ्य चौकीलाई बोधिसत्वा बिहार काठमाण्डौं तथा गिरिजाप्रसाद कोईराला (जीपी) फाउण्डेशनले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
जीपी फाउण्डेशन बागमती प्रदेशकी संयोजक रिता खनालले हेल्थपोष्ट इन्चार्ज टिएन ढुङगेललाई पिपिई ५ सेट, सेनेटाईजर ५ लिटर, २ थान पल्सओक्सिमिटर,१० पाकेट मास्क,१० थान फेसशिल्ड हस्तान्तरण गरेकी हुन् । कोरोना संक्रमितको संख्या घट्दो भएपनि जोखिम कायमै रहेका कारण फाउन्डेसनले स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाँई,वडा सदस्य राजकुमार बास्तोला, कृष्णप्रसाद सञ्जेल, नेपाली काँग्रेस हेटौंडा–६ का सभापति रामहरी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, हेल्थपोष्टलाई हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाँईले ५ सय थान मास्क र कोभिड रेस्पोन्स टिम हेटौंडा–६ र १७ ले १० कार्टुन पानी सहयोग गरेका छन् ।
