दुर्घटनामा खड्काको मृत्यु, मकवानपुरका कार्की पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार १६:१२

झापा । झापाको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बोलेरो चालक दमक–९ निवासी ४० वर्षीय नेत्र खड्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, शिवसताक्षी–१० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको उक्त टिपरले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट बोलेरो जीप अनियन्त्रित भई कन्काई सिँचाइ आयोजनाको नहरमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनापछि प्रहरीले टिपर चालक मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशङ्कामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।