६ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक असोज १४ गते

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार १५:०१

काठमाडौं । प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठक सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच बसेको बैठक ६ मिनेटमै सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर बैठक स्थगित गरेका हुन् ।

सभामुख सापकोटाले प्रतितिनिधसभाको अर्को बैठक आगामी असोज १४ गतेसम्मका लागि स्थगित गरेका हुन् । बैठकमा सभामुख सापकोटाले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै सभामा आफ्ना कुराहरु राखेर बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न सबैलाई आग्रह गरेका थिए ।

एमालेमा सांसदहरुले अवरोध जनाएपछि बैठक स्थगित गरेको जनाइएको छ । गत भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर, धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संचालन गरेका छन् ।