हेटौंडामा सवारी दुर्घटना, एक गम्भीर घाइते

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १५:५४

मकवानपुर । मकवानपुरको हेटौंडामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज (आइतबार) दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडामा बस र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको ना ४ ख ७८३३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ५३ प ३५१७ नम्वरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने वर्ष १८ को सागर साह गम्भीर घाइते भएका छन् । घाइते सागरको हाल हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । प्रहरीले उक्त बस, मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।