जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार ०९:१७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित गरेर विशेष योजना सार्वजनिक गरेको छ । प्रशासले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित हँदै चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । विज्ञप्तीमा चाडपर्वमा यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज वातावरण सिर्जना गर्न प्रशासनले यातायात व्यवसायी संचालकहरुलाई आग्रह गरिएको छ ।

प्रशासनले सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ संक्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाइने, यात्रुहरूलाई आवतजावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौंडा उपमहानगरपालिका क्षेत्रको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिकसहितको चार्डपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । साथै प्रशासनले तोकिएकोभन्दा बढी भाडा लिएको पाइएमा भाडा लिने र दिने दुबै उपर तत्काल कारबाही गरिने  जनाएको छ ।

यस्तै, प्रशासले लोकमार्गमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन हुने व्यवस्था मिलाइने, सुरक्षित यात्राका सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर मार्फत सचेतनामूलक सन्देश प्रचार प्रसार गरिने, बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्य वृद्धि जस्ता क्रियाकलाप गर्नेलाई तत्काल कानूनी दायरामा ल्याइने र बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र बिक्री वितरणलाई सहज बनाइने जस्ता योजनाहरु सार्वजनिक गरेको छ ।

प्रशासनले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सबै प्रकारका मेला, महोत्सव, सांगितिक कार्यक्रम, चिठ्ठा बिक्री वितरण एवम्ं खोल्ने कार्यमा पूर्ण रूपमा रोक लगाइने, मठ/मन्दिरलगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चतता गरिने जनाइएको छ । साथै, चाडपर्वको नाममा जुवातास, कौडा खेल्ने लगायतका गैरकानूनी क्रियाकलापहरू गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही कारबाही प्रकृया अगाडि बढाइने  जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।