कांग्रेस हेटौंडा उपमहानगर अधिवेशन : इटेनीको प्यानलमा २ वडा अध्यक्ष
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको सभापति पदका उम्मेदवार उत्सव इटेलीले शुक्रबार आफ्नो चुनावी टिम सार्वजनिक गरेका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी टिम सार्वजनिक गरेका हुन् । उनको टिमबाट उपसभापतिमा हेटौंडा–१६ का वडा अध्यक्षसमेत रहेका कांग्रेस नेता रामकृष्ण कोइराला र नेतृ डोल्मा स्याङ्बो उम्मेदवार बन्दैछन् । भने सचिवमा हेटौंडा १ का वडा अध्यक्षसमेत रहेका युवा नेता सविन न्यौपाने र नेता हर्करत्न लामा उम्मेदवार बन्ने छन् ।
सहसचिवमा विकास बानियाँ र निगम श्रेष्ठ उम्मेदवार बन्नेसमेत जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै ईटेनीले पछिल्लो समय युवा पुस्तालाई नेतृत्वमा पुर्याउनु आवश्यक रहेको भन्दै आफु नगर सभापतिको उम्मेदवार बनेको बताए । सानै उमेरदेखि कांग्रेसको राजनीतिमा सक्रिय इटेनी २०५१ सालमा बुथप्रतिनिधि हुदैं नेपाली कांग्रेसको १२ औं महाधिवेसनबाट जिल्ला सदस्य बने ।
१३ औं अधिवेसनमा भने उनले झिनो मतले जिल्ला कोषाध्यक्ष पदमा पराजित हुन पर्यो । उनी हाल नेपाली कांग्रेसले देशभर जिल्लामा गठन गरेको कोभिड –१९ अनुगमन व्यवस्थापन समितिको संयोजक भई काम गरिरहेका छन् । नगरमा कांग्रेसको संगठन बलियो बनाउन आफ्नो उल्लेख्य भूमिका रहने र आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले जित्ने आधार तयार पार्न आफ्नो उम्मेदवारी रहेको र सबैको साथ पाए निर्वाचित हुने उनको भनाई छ । यसअघि अर्का उम्मेदवार महेन्द्र राउतलेसमेत आफ्नो टिम सार्वजनिक गरेका छन् ।
