हेटौंडामा खाद्य प्रविधिको पाँच तल्ले भवन निर्माण
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको पाँच तल्ले भवन निर्माण भएको छ । २०७२ सालको भूकम्पका कारण जिर्ण बनेको खाद्य प्रविधिको कार्यालयका लागि नयाँ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाइले कार्यालयको भवन निर्माण गरेर बिहिबार एक कार्यक्रमबीच जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख इन्जिनियर तुलसी राम खरर्वुुजाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरेका हुन् । । उक्त भवन १३ प्रतिशत भ्याट बाहेक १३ करोड २६ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
निर्माणको जिम्मा पाएको हनुमान कन्ट्रकसनले सक्नुपर्ने मिति अगाबै भवन निर्माणको काम सकेको हो । कुल साना ठुला कोठा, हल समेत गरेर ५२ वटा कोठाको भवन निर्माण भएको इकाइ भवनका इन्जिनियर रविन पाठकले बताए । उनका अनुसार, भवनमा सोलार सिस्टम, भवन सम्म आउनका लागि स्लाब ढलान बाटो, पार्किङ सेडको व्यवस्था, क्यान्टीन ब्लक, पालेघर, सुरक्षा पोष्ट, पम्प हाउस, फायरफाइरिङको व्यवस्था भएको र बगैचा समेत निर्माण गरिएको छ ।

