थपिए १२३९ संक्रमित, भए १३२४ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ४१ र ३ हजार ६ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज देशभर एक हजार ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १३ जना संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म कूल संक्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ जना अर्थात ९६ प्रतिशत पुगेको छ भने संक्रमणबाट हुनेमा ११ हजार ७२ जना अर्थात १.४ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १९ हजार ४३७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३०६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
मकवानपुरमा थपिए २८ जना संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १८५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय ८३ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि, १ हजार ८ सय ३० जना संक्रमणमुक्त र ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
