मकवानपुरमा थपिए २८ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ आश्विन ७, बिहीबार १५:२५

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १८५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा १३४ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा र ५१ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छनर त्यहाँ आज २० जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी थाहानगरपालिकाका ५ जना, मनहरी गाउँपालिकाका एक जना र बकैया गाउँपालिकाका एक जना रहेको छन । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १ सय ८३ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना रहेका छन् ।

यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि, १ हजार ८ सय ३० जना संक्रमणमुक्त र ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।