भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन ६,बुधबार १४:५६
File Photo

रोल्पा । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ । ढुंगाले लागेर रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र २ वर्षीया बालिका कृतिका पुनको मृत्यु भएको हो । मृतक दुई जना आमाछोरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो । रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको पनि मृत्यु भएको जनाइएको छ ।

सर्पले कोटेर दिदीभाईको मृत्यु
सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डल रहेको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो । सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।