कांग्रेस पदाधिकारीको बैठक बस्दै
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ । सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो । परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ । परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न आज पदाधिकारी बैठक बस्न लागेको जनाइएको छ ।
कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । क्रियाशील विवाद मिलाए पनि नामावली सार्वजनिक नहुँदा असोज ५ का लागि तय गरेको वडा अधिवेशन प्रभावित भइसकेको छ । साथै परराष्ट्र मन्त्री चयन गरेर सकेसम्म आजै सपथ गराउने पक्षमा प्रधानमन्त्री देउवा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री बनाउनेबारे पार्टीमा गहन छलफल गरेपछि मात्रै निर्णय हुनुपर्ने बताइरहेका छन् । यसैबीच पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गरेका छन् ।
