सर्वोच्चले निर्वाचन आयोगसंग माग्यो एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय

तु खबर संवाददाता
२०७८ आश्विन ५,मंगलवार १६:११

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको गत भदौ ९ गतेको सक्कल निर्णय मागेको छ । मंगलबार न्याधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको सक्कल निर्णय माग गर्न आदेश दिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबार्ही गरेको १४ केन्द्रीय सदस्यले सनाखत गरेर दर्ता दर्ता गरेको भन्दै त्यसलाई बदर गर्न सर्वोच्चमा रिट दर्ता गराएका थिए । त्यस्तै, ओलीले पार्टीले गरेको १४ सांसदको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै सभामुखको निर्णय पनि बदर गर्न माग गरेका थिए ।

सर्वोच्चले एमालेले गरेको सांसद कारबाहीलाई मान्यता नदिने सभामुखको भदौ १३ गतेको निर्णय, लुम्बिनी प्रदेशसभाका सभामुखको भदौ ४ गतेको निर्णयको पनि सक्कल प्रति मगाएको छ । नेकपा एमाले विभाजन भई एकीकृत समाजवादी पार्टी दर्ता भएपछि ओलीले पार्टीले कारबाही गरिसकेका केन्द्रीय सदस्य र सांसदले सनाखत गरेर दर्ता भएको पार्टी नै अवैधानिक भन्दै रिट दिएका थिए । यसअघि सो रिटमा भदौ २२ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २९ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाउन आदेश दिएको थियो । तर भदौ २९ गते यो रिट न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हेर्न नभ्याइनेमा परेको थियो ।