दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएाको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर एकको मृत्यु
बाग्लुङ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको प्रहरीले जनाएको छ ।