प्रतिनिधिसभा बैठक : आगामी आर्थिक वर्षका लागि बजेट पारित

तु खबर संवाददाता
२०७८ आश्विन ४, सोमबार १६:१४
file-photo

काठमाडौं । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई वटा आर्थिक विधेयक स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

साथै बैठकमा विद्यालयको आयकर घटाउन माग गरेका थिए । सो विधेयक सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको थियो । यस्तै अर्थमन्त्रीले सभामा प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले बजेट पारित गरेको भएपनि सरकारले भोलि (असोज ५ गते) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ ।

गत भदौ ३१ र असोज १ गते सरकारले खर्च गर्न पाएको थिएन । २ र ३ गते सार्वजनिक बिदा भए पनि सोमबार सरकारी कार्यालयहरू खुलेका छन् । भोलि (असोज ५ गते) पनि सरकारी कार्यालय खुला रहनेछ । चार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको छ ।  यस्तै, प्रतिनिधिसभाबाट आज पारित बजेट (विनियोजन विधेयक) कार्यान्वयन हुन राष्ट्रियसभाले पारित गर्नुपर्दछ । सभामुखले सो विधेयकलाई राष्ट्रपति समक्ष पुर्याउनु पर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले राष्ट्रिय ढुकुटी (सञ्चित कोष) चलाउन पाउनेछ । वर्तमान सरकारले समयमै बजेट प्रतिस्थापन विधेयक पारित गराउन नसक्दा अहिले राज्य खर्च गर्न नपाउने अवस्थामा छ । संवैधानिक अंग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक नेपालमा अन्य खर्च रोकिएको छ ।