संखुवासभा हत्या प्रकरणमा थप ४ जना पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन ४, सोमबार १५:१२

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यसअघि उक्त घटनामा संलग्नको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका लोकबहादुरको बयानका आधारमा थप ४ जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा लोकबहादुरका बुवा रणबहादुर कार्की, भाई नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की रहेका छन् । अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुल्न आएको जाइएको छ । प्रहरीका अनुसार, घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाइएको र गत भदौं २१ गते तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने र अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।