चीनबाट आइपुग्यो थप ४४ लाख डोज खोप

तु खबर संवाददाता
२०७८ आश्विन १,शुक्रबार १५:२०

काठमडौं । चिनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रबार) दिउँसो नेपाल आइपुगेको हो ।

स्वास्थ्य सेवा विभागको अनुसार, उक्त परिणामको खोप दिउँसो २ बजे उडानमार्फत त्रिभुवन विमानस्थल आइपुगेको हो । नेपालले चीनसँग ६० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप खरिद गरेको थियो । आज थप ४४ लाख डोज खोप आइपुगेसँगै नेपालमा ६० लाख डोज खोप नेपाल आइपुगिसकेको छ । यसअघि दुई पटक गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको थियो ।

उक्त खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले जानकारी दिए । उनका अनुसार, अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न लागिएको छ । जसमध्ये हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ ।

त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिए । साथै १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका विद्यार्थी, फन्टलाइनमा खटिएका संचारकर्मी, स्वास्थ्यकर्मी, अतिआवश्यक सेवा, शिक्षा, पर्यटन क्षेत्रका नागरिकलाई खोप दिने योजना रहेको उनले बताए ।