मन्त्रालयको भागवण्डा मिलाउन बालुवाटारमा बैठक जारी

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १८:१२

काठमाडौँ । सरकार गठन भएको महिनौँ बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो विषयमा छलफल गर्न सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ ।

बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भैरहेको जनाइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम माग्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश विवादका कारण सरकार विस्तार हुन सकेको थिएन ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा काँग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ र जसपाका तर्फबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

सरकार विस्तारको लागि संयुक्त गठबन्धनको बैठक पटक पटक बस्दै आइरहेको भएपनि मन्त्रिपरिषद् विस्तार हालसम्म हुन नसकेको भन्दै आलोचना सुरु भएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रलाई सरकारमा समेटिसकेका छन् भने अब नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि सहभागि गराउने तयारीमा रहेको बुझिएको छ ।