जिसस सदस्यको निधनमा शुक्लाफाँट नगरपालिकाद्वारा सार्वजनिक विदा दिने निर्णय

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार ०९:१०

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँट नगरपालिकाले जिल्ला समन्वय समिति सदस्यको निधनमा आज सार्वजनिक विदा दिएको छ । नगरपालिकाको ५ नं वडा सदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय समिति सदस्य बनेका बलराम पन्तको निधनमा आज नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

शोक दिवस मनाउने प्रयोजनका लागि नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताएका छन् । पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको थियो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए ।
शोक दिवस मनाउने प्रचलन भएपनि सार्वजनिक विदा दिँदा अन्य नागरिकको दैनिक काम कारबाही प्रभावित भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।