मकवानपुरमा कोरोना संक्रमितको संख्या १५०५० पुग्यो, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ भाद्र ३०,बुधबार १६:०६

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा ६६ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमिण पुष्टि हुनेको कूल संख्या १५ हजार ५० जना पुगेको छ । जिल्लामा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ हालसम्म १० हजार ७० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका १ हजार ४ सय ५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ सय ३१ जना, बागमती गाउँपालिकाका २ सय ८२ जना, कैलाश गाउँपालिकाका २ सय २० जना, मनहरी गाउँपालिकाका १ हजार ३ सय ४९ जना, इन्द्रसरोवर गाउँपालिकाका ८३ जना, भीमफेदी गाउँपालिकाका ७ सय २५ जना, बकैया गाउँपालिकाका २ सय ५१ जना र राक्सिराङ गाउँपालिकाका २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशनमा बसेका ३० जना संक्रमणमुक्त भएका हुन् । यससँगै जिल्लामा संक्रमण निको हुनेको कूल संख्या १४ हजार ६ सय २५ जना पुगेको छ । संक्रमण निको हुनेमा सबैभन्दा धेरै हेटौंडाका रहेका छन् । हेटौंडामा हालसम्म ९ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १ हजार ३ सय ७५ जना, मकवानपुरगढीका ४ सय १३ जना, बागमतीका २ सय ७८ जना, कैलाशका २ सय १९, मनहरीका १ हजार ३ सय २१, इन्द्रसरोवरका ८३ जना, भीमफेदीका ७ सय २२ जना, बकैयाका २ सय ४४ जना र राक्सिराङ गाउँपालिकाका २ सय ३१ जना रहेका छन् ।

त्यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण निधन हुनेको कूल संख्या १ सय ६४ जना पुगेको छ । निधन हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल जिल्लामा २ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २ सय ३ जना हामआइसोलेशनमा र ९ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् ।