हेटौंडाका न्यौपानेसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १८:२१

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक अपराध मुद्दा र चोरी मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बस्ने लिलानाथ न्यौपाने र भीमफेदी गाउँपालिका वडा नम्वर ६ बस्ने मिलन स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेनद्र दासले जानकारी दिए ।

प्रहरी निरीक्षक दासका अनुसार, मकवानपुर जिल्ला अदातल हेटौंडाको मिति २०७२ साल पुस १२ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा २ हजार ३ सय ७५ रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी भई फरार रहेको न्यौपानेलाई आज (मंगलबार) पक्राउ गरेको हो । न्यौपानेलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१४ बाट पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७८ साल बैशाख ८ गतेको फैसलाले चोरी मुद्दामा १० महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका स्याङतानलाई सोमबार पक्राउ गरेको जनाइएको छ । उनलाई ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई जरीवाना भुक्तान र आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीले यसअघि सोमबार मात्रै ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । प्रहरीले वन मुद्दामा एक जना र गाली बेज्जती मुद्दामा ४ जना गरी ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बस्ने युवराज कुमार साह, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने गोपीबहादुर सुनार, भिमबहादुर सुनार, बिजयबहादुर सुनार र कृष्णबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरी निरीक्षक दासका अनुसार, प्रहरीले वन मुद्दामा हेटौंडा–१८ बस्ने युवराज कुमारलाई पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतको मिति २०७७ पुस २३ गतेको फैसलाले १२ हजार ५ सय रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी उनलाई सोमबार हेटौंडा–१० बाट पक्राउ गरेको हो ।यसैगरी, गाली बेज्जती मुद्दामा फरार गोपीबहादुर, बिजयबहादर र कृष्णबहादुरलाई सोमबार हेटौंडा–३ बाट पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।