शाक्य संकटमा, बागमतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १८:३३

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलले आइतबार प्रदेशसभा सचिवालयमा एमालेबाट मुख्यमन्त्री बनेकीे अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको आधिकारिक जानकारी गराएसंगै शाक्य नेतृत्वको सरकार संकटमा परेको छ ।

सो दलले हिजो आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय र सभामुख सानुकुमार श्रेष्ठसमक्ष मुख्यमन्त्रीलाई आफुहरुको समर्थन नरहेको भन्दै पत्र पठाएको थियो । निर्वाचन आयोगले समेत दल विभाजनको पत्र प्रदेशसभामा पठाइसकेको छ । यससंगै बागमती प्रदेशसभामा दर्ता हुने दलसंख्या ७ पुगेको छ ।

नेकपा एमालेको स्पष्ट बहुमतबाट भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसंगै अल्पमतमा परेकी हुन् ।

कूल ११० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यक पर्छ । एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेसंगै एमाले ४३ सांसदमा खुम्चिएको छ । अर्थात अब एमाले एक्लैसंग सरकार टिकाइराख्ने सामथ्र्य छैन । वर्तमान राजनीतिक समिकरण नियाल्दा अन्य विपक्षी दलहरुले शाक्यलाई समर्थन गर्ने संभावना पनि छैन ।

यसैबीचमा विपक्षी गठबन्धनका दलहरु नयाँ सरकार गठन गर्न लागिपरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दल नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टीलगायतका दलहरु नयाँ गठन हुने सरकारमा कसरी भागबण्डा मिलाउने भन्ने विषयमा छलफलमा केन्द्रीत छन् ।

नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई

मुख्यमन्त्री बन्ने दौडमा रहेका एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेता राजेन्द्र पाण्डेलाई नयाँ सरकार गठनको जिम्मा दिने निर्णय गरेको छ । यससंगै पाण्डेले विभिन्न राजनीतिक दलसंग आवश्यक समन्वय सुरु गरेका छन् । तर, मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि दावी गरेपछि छलफल लम्बिइरहेको छ ।

समाजवादीको संसदीय दलको आज बसेको बैठकले उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाल, प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुमागाईँलाई चयन गर्ने निर्णय गरेको छ ।

खनाललाई मुख्यमन्त्री शाक्यले भदौ २ गते सामाजिक विकासमन्त्री नियुक्त गरेको भएपनि उनले भदौ १७ गते पदबाट राजीनामा दिएका थिए । उनले एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा सनाखतसमेत गरिसकेका छन् ।

त्यस्तै एकीकृत समाजवादीले दलको सरकार गठन भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न दलको तर्फबाट प्रदेश सभा सदस्यहरु माधव पौडेल, प्रदेशसभा सदस्य बसन्त प्रसाद मानन्धर, मिना ज्ञवाली र बसुन्धारा हुँमागाईलाई जिम्मा दिएको प्रमुख सचेतक मुनु सिग्देलले बताइन् ।

वर्तमान सरकार अल्पमतमा परिसकेको अवस्थामा विकास निर्माणका नयाँ कायृक्रमहरु स्वीकृत गर्न, निश्चित शर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्राचार गर्नेसमेत निर्णय गरेको सिग्देलले जानकारी दिइन् ।