नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १७:०१

मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ ।
सोही बैठकले दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुँमागाइलाई चयन गरेको हो ।

उपनेता खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए । उनले गएको भदौ १६ गते नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका थिए भने भदौ १७ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

बैठकले बागमती प्रदेशमा गठबन्धनको सरकार गठन गर्नको लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका दलसंग समन्वय गर्ने जिम्मा प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई दिने निर्णय गरेको छ ।

गठबन्धन सरकार निर्माण भएपछि प्रदेश सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।

आइतबार नेकपा एकीकृत समाजवादी दलको तर्फबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद माधव पौडेलको अध्यक्षतामा बैठक बसी राजेन्द्र पाण्डेलाई संसदीय दलको नेत चयन गरिएको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय र सभामुख समक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको पत्रसमेत बुझाइएको थियो ।

आइतबार नै निर्वाचन आयोगले पनि दल विभाजनबारे प्रदेशसभा सचिवालयमा जानकारी गराएको छ । बागमती प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझासमेत ७ वटा दलको प्रतिनिधित्व छ भने एक स्वतन्त्र सांसद छन् ।