एमसीसी कुनै हालतमा लागू हुन दिन्नौँ : विप्लव

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १६:२९

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाले आज राजधानी काठमाण्डौंमा विरोधसभाको आयोजना गर्दै एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् । अमेरिकी सरकारले नेपाललाई एमसीसी परियोजना अन्तर्गत दिन लागेको सहयोगले नेपाललाई क्षति हुने बताउँदै सो पार्टीले यसको विरोध गरिरहेको छ ।

आज विप्लव नेतृत्वको नेकपाले काठमाडौंका विभिन्न ठाउँमा जुलुस निकालेको छ । एमसीसी परियोजना प्रतिनिधिसभाबाट पारित भई कार्यान्वयनमा जाँदा यसले राष्ट्रिय हीत नहुने भन्दै एमसीसीको चौतर्फी विरोध भइरहेको हो ।

एमसीसीकै विरोधमा यसअघि उन्नत लोकतन्त्र पार्टीले पनि अवरोध गरिरहेको छ । एमसीसी उपाध्यक्ष फातिमा मोजार काठमाडौं आउँदा सो पार्टीले त्यसविरुद्ध आन्दोलन गरेको थियो । सो पार्टीका अध्यक्ष स्वागत नेपालको नेतृत्वमा साता दिनभन्दा अघिदेखि आन्दोलन भइरहेको छ ।

केहीले भने एमसीसी पास गरेर नेपालमा लगानीमैत्री वातावरण बनाउन सके त्यसबाट नेपालले धेरै लाभ लिने तर्क गर्दै आइरहेका छन् । एमसीसी परियोजनाका बारेमा नेपाल सरकारले केही दिन अघि सो परियोजनालाई पत्राचार गर्दै थप विषयबारे स्पष्ट पार्न आग्रह गरेपछि एमसीसीले पनि नेपाल सरकारको सो पत्रको जवाफ दिँदै केही विषयहरुमा स्पष्ट पारेको थियो । एमसीसीको सो पत्रपछि झनै नेपालका राजनीतिक दलहरु दुई ध्रुबमा विभाजित छन् ।

एमसीसी परियोजना खारेज गर्न भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीलगायतका राजनीतिक दलहरुले माग गरिरहेका छन् । यसअघि एमसीसीकी उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलका प्रमुख तथा प्रधानमन्त्रीलगायतसँग एमसीसी परियोजना प्रतिनिधिसभाबाट पास गर्ने र कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले एमसीसी परियोजना पास नगर्ने संकेत दिएका थिए भने नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो दल सरकारमा हुँदा एमसीसी पास गर्ने कुरामा तयार रहेको तर सभामुखले रोकेको हुनाले अब सत्तारुढ दलको यस विषयमा धारणा आउनुपर्ने बताएका थिए ।