बागमती प्रदेशसभामा नयाँ दल दर्ता (पत्रसहित)

तु खबर संवाददाता
२०७८ भाद्र २७,आईतवार १५:०४

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा नयाँ दल दर्ता भएको छ । आज (आइतबार) निर्वाचन आयोगबाट प्राप्त माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावलीसहितको पत्र प्रदेशसभामा दर्ता भएको हो ।

यससँगै बागमती प्रदेशसभा सचिवालयमा ८ वटा दलको सहभागिता रहेको छ । जसमा नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशिल साझा, राप्रपा, नेमकीपा र एक स्वतन्त्र सांसद रहेका छन् ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । तीमध्ये सबै भन्दा ठुलो दल नेकपा एमालेका ४३ सांसद, दोस्रो दल नेकपा माओवादी केन्द्रका २३ सांसद, तेस्रो दल नेपाली कांग्रेसका २२ सांसद, चौथो दल नेकपा एकीकृत समाजवादीका १३ सांसद, पाँचौ दल विवेकशिल साझाका ३ सांसद, छैठौं र सातौं क्रमशः राप्रपा र नेमकिपा २/२ जना र एक जना स्वतन्त्र सांसद रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा एमालेको विभाजन पछि क्रमशः राजेन्द्र पाण्डे, बसन्त मान्नधर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाल पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुशुम कुमार कार्की र मिना ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

गत भदौ ९ गते नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा (२) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ (दोश्रो संशोधन, २०७८) को नियम ५ बमोजिम नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी दल यस आयोगमा दर्ता भएको थियो ।

एमालेबाट बाग्मती प्रदेशकासभा सदस्यहरुले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ (दोश्रो संशोधन, २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एकीकृत समाजवादी दलमा प्रवेश गर्नका लागि प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेको आयोगले जनाएको छ ।

                                                           हेर्नुहोस् पत्र ।