कांग्रेस मकवानपुरगढीको सभापतिमा मेरो उम्मेदवारी रहन्छ – दाहाल
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । यस अघि भदौ २७ गतेका लागि तय भएको स्थानीय नगर/पालिकाको अधिवेशन आगामी भदौ असोज ९ गतेका लागि सारिएको छ ।
महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यस पटक युवा पुस्ताको सक्रियता उल्लेख्य रुपमा बढेको देखिन्छ ।
यसैबीचमा कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन दाहालले आसन्न अधिवेशनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
१५/१६ बर्षको उमेरदेखि नै पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सहभागि हुन रुचाउने दाहाल २०४८ सालबाट आधिकारिक रुपमा नेपाल विद्यार्थी संघ (नेवि संघ) मार्फत विद्यार्थी राजनीतिमा होमिए ।
त्यतिबेला उनी गाउँकै श्री भानु माविमा कक्षा ७ सम्म अध्ययन पुरा गरेर कक्षा ८ मा अध्ययनका लागि हेटौंडा उपमहानगरपालिका वडा नं ६ मा रहेको श्री वंशगोपाल माविमा भर्ना भइसकेका थिए ।
एसएससीसम्मको अध्ययन पुरा गरेका दाहाल त्यसयता निरन्तर कांग्रेसको विभिन्न भातृ तथा सुवेच्छुक संगठनमा रहेर क्रियाशील छन् ।
२०३१ बैशाख १८ गते तत्कालिन मकवानपुरगढी गाविसमा जन्मिएका दाहाल कांग्रेसको १२ औँ महाधिवेशनबाट क्रियाशील सदस्य भएका हुन् ।
उनले नेवि संघ, तरुण दललगायत कांग्रेसको भातृ तथा सुवेच्छुक संगठनमा आवद्ध भई काम गरेको अनुभव बटुलेका छन् । कांग्रेसको १२ औँ अधिवेशनमा क्षेत्र नं १ को सचिवका रुपमा काम गरी उनले कार्यकुशलता प्रदर्शन गरे ।
समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाज रुपान्तरणको लागि केही गर्नुपर्छ भन्ने मान्यताले उनलाई राजनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो ।
उनले तत्कालिन समयमा पञ्चायती व्यवस्था तथा २०६२/६३ मा निरंकुश राजतन्त्रविरुद्ध अग्रभागमा रहेर आवाज उठाउनुको साथै पार्टीका विभिन्न आन्दोलनका कार्यक्रममा सक्रिय उपस्थिति जनाउँदै आएका छन् ।
१३ औं अधिवेशनबाट पार्टीको जिल्ला सदस्य भएका उनी आसन्न असोज ९ गते हुने गाउँपालिका स्तरीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी दिने तयारीमा छन् ।
आफ्नो उपस्थितिलाई स्थानीय क्षेत्रमा बलियो बनाउने र स्थानीय जनताकै सेवामा आफुलाई समर्पित गराउने उदेश्यसहित उम्मेदवारी घोषणा गरेको उनी बताउँछन् ।
राजनीतिसंगै सामाजिक सेवाका काममासमेत उनको उपस्थिति बलियो देखिन्छ ।
एक कार्यकाल उपाध्यक्ष र ३ कार्यकाल अध्यक्ष भएर चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिमा उनले काम गरेका छन् । मनकामना दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको हाल उनी अध्यक्ष छन् । त्यस्तै हिमाल महिला बहुउदेश्यीय सहकारी, दिब्यतारा सहकारीलगायत दर्जनौँ सहकारी संस्था र सामुदायिक विद्यालयमा उनले सल्लाहकारको रुपमा जिम्मेवारी निर्वाह गरेका छन् ।
आफ्नो चाहाना गाउँगाउँमा पुगेर त्यहाँको समस्या पहिचान गरी समाधानको प्रयास गर्ने, वडातहसम्म कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउने, कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने र गुट उपगुटको राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने रहेको बताए ।
सभापति भएपछि अग्रजको सम्मान, नयाँलाई उत्साह, क्रियाशीललाई भविष्य सुनिश्चितताको लागि पहल गर्दै आवाज विहिनहरुको आवाज भएर काम गर्ने उनको योजना छ ।
उनले सबैको सहयोग पाए आफु सभापति पदमा निर्वाचित हुने बताए ।
