कांग्रेसले मनायो बिपीको १०८ औँ जन्मजयन्ती
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले नेपालको राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्ती मनाएको छ ।
विहिबार पार्टी कार्यालय मकवानपुरमा स्वर्गीय कोइरालाले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको विषयमा छलफल तथा अन्तरक्रिया गर्नुको साथै उनको शालिकमा माल्यापर्णसमेत गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले बिपीले दिएको बिचार र सिद्धान्त नेपाली कांग्रेसको मार्गदर्शन भएको बताए ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापना जहानियाँ राणा शासनको अन्त्यका लागि बिपीको योगदान महत्वपूर्ण रहेको उनले स्मरण गरे ।
त्यस्तै पार्टी प्रवक्ता प्रदिप कोइरालाले लोकतन्त्र, समाजवाद र प्रजातन्त्रको स्थापनाका लागि बिपिले पुर्याएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरे ।
कार्यक्रममा पार्टी मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल,सल्लाहकार प्रभात दाहाल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँलगायतले बिपिको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरकी सदस्य इन्दिरा न्यौपानेले पार्टी कार्यालयलाई साउन्ड सिस्टम सहयोग उपलब्ध गराएकी थिइन् ।
