कांग्रेसको संगठन चुस्त बनाउन मेरो उम्मेदवारी – बानियाँ
मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । मकवानपुरका १० वटै स्थानीय तहको नगर/गाउँ समितिको निर्वाचन आगामी भदौ २७ गतेका लागि तय भएको छ ।
महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यो पटक युवा पुस्ताको सक्रियता बढेको छ ।
यसैबीचमा हेटौंडा उपमहानगरपालिकाका ५ नं वडा अध्यक्षसमेत रहेका कांग्रेस नेता राजेश बानियाँले आसन्न अधिवेशनमा हेटौंडा उपमहानगरको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
२०५० सालदेखि कांग्रेसमा रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका बानियाँ भदौ २७ गते हुने नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारीमा
छन् ।
२०३६ साल बैशाख २९ गते मकवानपुरको हेटौंडामा जन्मिएका बानियाँले बालज्योति उच्च माध्यामिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे र मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पुरा गरे ।
१५/१६ बर्षको उमेरमा कांग्रेसको साधारण सदस्य भएका उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् ।
समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाज रुपान्तरणको लागि केही गर्नुपर्छ भन्ने मान्यताले बानियाँलाई राजनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो ।
राजनीतिसंगै सामाजिक सेवाका काममासमेत उनको उपस्थिति बलियो देखिन्छ ।
उनले २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुरको संस्थापक अध्यक्ष भएका काम गरे । लायन्स क्लबको संस्थापक अध्यक्षसमेत रहेका बानियाँ उद्योग वाणिज्य संघको सदस्यको जिम्मेवारीमा रहेर कार्यकुशलता प्रदर्शन गरे ।
राजनीतिक र सामाजिक सक्रियताकै कारण वडावासीमाझ लोकप्रिय भएका बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट हेटौंटा उपमहानगर वडा नम्वर ५ को अध्यक्ष निर्वाचित भए ।
जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, बानियाँले भने आफ्नो पारिश्रमिक बालबालिकाका लागि खर्च गर्ने गरेका छन् ।
चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ४ बर्ष पुग्दासम्म उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।
‘मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबबापत आउँछ । जसमध्ये म आफैँले अध्ययन गरेको बालज्योति उच्च माध्यमिक विद्यालयमा मासिक २० हजार र श्री लक्ष्मी आधारभुत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उपलब्ध गराउँदै आएको छु ।’ उनले भने ।
वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपूयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माबिको ३ कोठे भवन निर्माणको लागि दिएको उनले
बताए ।
विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको उनले बताए ।
उनले स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । सो रकम रकम पारिश्रमिकबाहेक व्यक्तिगत पनि भएको उनको भनाइ छ ।
बानियाँले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । हेटौँडा उपमहानगरले वडाअध्यक्षका लागि मोटरसाइकल बाँडेको थियो । काममा सहजता र छिटो हुने तर्कसहित उपमहानगरले मोटरसाइकल बाँडे पनि अध्यक्ष बानियाँले लिएनन् । उनले मकवानपुरका १०२ वडामध्ये आफ्नो वडालाई उत्कृष्ट सावित गराए ।
आफ्नो चाहाना नगरका गाउँ ग्रामिण क्षेत्रसम्म पुगेर त्यहाँको समस्या पहिचान गरी समाधानको प्रयास गर्ने, वडातहसम्म कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउने, कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने र गुट उपगुटको राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने रहेको बताए ।
युवाशक्तिले राजनीतिको माध्ययमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने र राजनीति नै समाज परिवर्तनको सम्बाहक भएको उनको बुझाई
छ ।
अमेरिका, क्यानडा जस्ता दर्जनौँ मुलुकमा पुगेर त्यहाँको विकास पूर्वाधारको विषयमा ज्ञान लिएर आएका बानियाँ नगर सभापति निर्वाचित भएपछि सो ज्ञान नगरको विकासमा प्रयोग गर्ने योजनामा छन् ।
बानियाँ व्यवसायीसमेत हुन् ।

