तीज पर्व : आज दर खाने दिन
मकवानपुर । हिन्दु महिलाले मनाउने तीज पर्वअन्तर्गत् आज दरखाने दिन । विभिन्न मिठा परिकारका साथ दरखाने चलन छ । आज चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ ।
माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफुललगायत परिकारलाई दरका रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँअनुसार फरकफरक छ । कतै साँझमा अन्य चिज नखाइ दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यर तमा दरखाने गरिन्छ ।
पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि एक महिना अघिदेखि नै दरखाने प्रचलन सुरु भएको छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ।
हरितालिका तीजका बेला पानीसमेत नखाइ ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दरखाने चलन बसेको बताइन्छ । परापूर्वकालमा देवी पार्वतीले शिवलाई पतिका रुपमा पाउन निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ।
तर, यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिकरुपमा दरखांन र तीज मनाउन त्यति उत्साह देखिएको छैन । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दरखान, तीज मनाउन र पूजापाठ गर्न आग्रह गरिएको छ।
