दुर्घटनामा पाण्डेको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार ०९:५३

संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा ट्रक चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डे रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

चालक पाण्डेको शव ट्रकले किचेको अवस्थामा आज बिहान निकालेर परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा १० जना मजदुर घाइते भएका छन् । घाइतेमध्ये खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतका आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाइएको छ ।

अन्य घाइतेहरुको सामान्य उपचारपछि घर फर्किएका छन् ।